गोरखामा पहिरोले नदी थुनिएपछि बाढीको वितण्डा, ५ जना सम्पर्कविहीन

गोरखा। गोरखा जिल्लामा पहिरो गएर नदी थुनिएपछि आएको बाढीले माछाखोलासम्मको क्षेत्र प्रभावित भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने हालसम्म ५ जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्राप्त जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ। बाढीले दुईवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुल बगाएको छ।

त्यसैगरी, ४५ वटा घर पूर्ण रूपमा र २७ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले ३४ वटा गोठसमेत बगाएको विवरणमा उल्लेख छ।

उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत साँझ ६ बजेसम्म विभिन्न स्थानमा उद्धार तथा राहत सामग्री पुर्‍याइएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको छ।

भोलि निजी हेलिकप्टरमार्फत पनि आवश्यक राहत सामग्री पुर्‍याउने तयारी गरिएको छ। बाढीबाट क्षतिग्रस्त आवागमनलाई सहज बनाउन हेटौँडाबाट बेली ब्रिजसमेत भोलिसम्म पुर्‍याउने तयारी रहेको जानकारी प्राप्त भएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।

सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार होस् र प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग समयमै उपलब्ध होस्।