नर्वेको जंगलमा नेपालीको सीपको चिनो : चार नेपालीले बनाए ३३३ खुड्किलाको ‘Liabratten’

नर्वेको जंगलमा नेपालीको सीपको चिनो : चार नेपालीले बनाए ३३३ खुड्किलाको ‘Liabratten’

ओस्लो । नर्वेको राजधानी ओस्लोस्थित Stovner मा रहेको Liabratten अहिले स्थानीय तथा पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पाँच वर्षभन्दा बढी समयअघि चार नेपाली ढुंगा निर्माण विशेषज्ञले करिब पाँच साताको मेहनतमा ३३३ खुड्किलाको यो विशाल ढुंगे सिँढी निर्माण गरेका थिए।

सन् २०१८ को अगस्ट १ देखि सेप्टेम्बर ७ सम्म निर्माण गरिएको Liabratten करिब २६० मिटर लामो छ भने यसले करिब ७० मिटर उचाइ पार गर्छ। निर्माणमा करिब २७० टन ढुंगा प्रयोग भएको थियो। 

यो सिँढी निर्माण गर्ने चार नेपाली Lapka Tamang, Sonam Finjo Sherpa, Mekh Bahadur Magar र Purna Bahadur Magar हुन्। उनीहरूलाई नर्वे ल्याएर परियोजनामा संलग्न गराउने तथा प्राविधिक समन्वय गर्ने काममा Geirr Vetti को महत्वपूर्ण भूमिका थियो। 

Liabratten निर्माणमा Høybråten og Stovner Idrettslag का Seniorgutta सहित Stovner Bydel र विभिन्न संघसंस्था तथा दाताहरूको सहयोग रहेको थियो। सन् २०१९ मे ११ मा ओस्लोकी तत्कालीन मेयर Marianne Borgen ले यसको औपचारिक उद्घाटन गरेकी थिइन्। 

यो सिँढी आज पनि नेपाली श्रम, सीप र नर्वेजियन समुदायसँगको सहकार्यको एउटा सुन्दर उदाहरणका रूपमा रहेको छ। चार नेपालीले ढुंगामाथि छोडेको यो चिनोले नर्वेको Gjelleråsmarka मा नेपाललाई पनि सम्झाइरहेको छ।