काठमाडौं । बलिउडका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित निवासमा अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको निधन कार्डियक अरेस्टका कारण भएको हो। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।
नाना पाटेकर अभिनयमा चरित्रलाई जीवन्त बनाउनका लागि निकै गहिरो तयारी गर्ने कलाकारका रूपमा परिचित थिए। सैनिकको भूमिका निर्वाह गर्न उनले वास्तविक सैनिक तालिमसमेत लिएका थिए।
उनले निर्देशन तथा अभिनय गरेको चलचित्र ‘प्रहारः द फाइनल अट्याक’ का लागि भारतीय सेनासँग करिब तीन वर्ष कठोर सैन्य तालिम लिएको विवरण सार्वजनिक भएका छन्। त्यसपछि उनी भारतीय टेरिटोरियल आर्मीसँग जोडिएका थिए।
सैनिकसँगको उनको सम्बन्ध चलचित्रको पर्दामै सीमित रहेन। सन् १९९९ को कारगिल युद्धका क्रममा तत्कालीन रक्षामन्त्री जर्ज फर्नान्डिसबाट विशेष अनुमति लिएर उनी सैनिकहरूसँग अग्रपंक्तिका क्षेत्रमा पुगेका थिए।
कारगिलका क्रममा उनले द्रास, लेह, कुपवाडा, बारामुल्लालगायत संवेदनशील क्षेत्रमा सैनिकहरूसँग समय बिताएका थिए। केही विवरणअनुसार उनी क्विक रेस्पोन्स टिमसँग समेत जोडिएर सहयोगी भूमिकामा खटिएका थिए। उक्त अवधिमा उनको तौल ७६ किलोबाट घटेर करिब ५६ किलोसम्म पुगेको बताइएको छ।
टेरिटोरियल आर्मीसँग उनको सम्बन्ध लामो समयसम्म रह्यो र सन् २०१३ मा मानद लेफ्टिनेन्ट कर्नेलका रूपमा उनको सैन्य सेवा समाप्त भएको उल्लेख छ।
नाना पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए। उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए भने सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।
उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा करिब पाँच दशक लामो एक प्रभावशाली अभिनय यात्राको अन्त्य भएको छ।
