लिस्बन। पोर्चुगलमा श्रम शोषणका लागि मानव बेचबिखन गरिएको आशङ्कामा नौ जना विदेशी नागरिकको पहिचान गरिएको छ। उनीहरू सबै रेस्टुरेन्ट तथा खानपान क्षेत्रमा कार्यरत रहेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।
युरोपेली प्रहरी संगठन (Europol) र युरोपेली श्रम प्राधिकरणको नेतृत्वमा सेप्टेम्बर १४ देखि २० सम्म ३४ देशमा सञ्चालन गरिएको अभियानका क्रममा पोर्चुगलमा नौ जना सम्भावित पीडित फेला परेका हुन्।
यस घटनामा एक महिला, दुई पुरुष र एउटा कम्पनीसहित चार जनालाई अभियुक्त बनाइएको छ। अभियुक्तहरू पोर्चुगलका नागरिक रहेको प्रहरीले जनाएको छ।
अभियानका क्रममा पोर्चुगलमा कुल ४२९ जनाको पहिचान गरिएको थियो। तीमध्ये १६७ जना पोर्चुगिज नागरिक थिए। पहिचान गरिएका विदेशी नागरिकसँग आवश्यक कागजात रहेको वा कागजात नियमित गर्ने प्रक्रिया चलिरहेको बताइएको छ।
पोर्चुगलका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको अभियानमा निर्माण, कृषि, रेस्टुरेन्ट, व्यापार, बन्दरगाह तथा समुद्री पूर्वाधारमा श्रम अवस्थाको निरीक्षण गरिएको थियो। श्रम अवस्था प्राधिकरण, राष्ट्रिय गणतान्त्रिक गार्ड (GNR), समुद्री प्रहरी तथा कर तथा भन्सार प्राधिकरणले पनि अभियानमा सहभागिता जनाएका थिए।
युरोपभर सञ्चालन गरिएको उक्त अभियानका क्रममा कुल २७ जना पक्राउ परेका थिए भने मानव बेचबिखनका सम्भावित २४८ जना पीडितको पहिचान गरिएको थियो।
स्रोत: SIC Notícias