बच्चा हेर्न जर्मनी पुगेकी सीमाको बदलियो जीवन, अहिले मनोचिकित्सा नर्स

जर्मनी। पारिवारिक आर्थिक अवस्था सुधार्ने उद्देश्यले सन् २०१८ मा ओ–पेयर भिसामा जर्मनी पुगेकी भक्तपुरकी सीमा ढुंगाना अहिले त्यहाँको स्वास्थ्य क्षेत्रमा स्थापित भएकी छन्। सुरुमा बच्चा हेर्ने कामबाट आफ्नो विदेश यात्रा सुरु गरेकी सीमा हाल जर्मनीको बोनस्थित एलभिआर मनोचिकित्सा अस्पतालमा साइक्याट्रिक नर्सका रूपमा कार्यरत छिन्।

जर्मनी पुगेपछि विभिन्न परिस्थितिको सामना गरेकी सीमाले नर्सिङ अध्ययन गरेर आफ्नो करियरलाई नयाँ दिशा दिएकी हुन्। अहिले उनी अस्पतालको क्लोज वार्डमा बिरामीको हेरचाह गर्नुका साथै महिनामा एक साता नर्सिङका विद्यार्थीलाई अध्यापन गराउँछिन्। त्यस्तै, क्रोनिक घाउको उपचारसम्बन्धी जिम्मेवारीसमेत उनले सम्हाल्दै आएकी छन्।

विदेशमा गरेको मेहनत र परिश्रमबाट उनले आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न सफल भएकी छन्। जर्मनीमा काम गरेर कमाएको आम्दानीबाट नेपालमा परिवारका लागि पक्की घरसमेत निर्माण गरेकी छन्।

पेसागत जिम्मेवारीसँगै सीमा नेपाली साहित्यिक गतिविधिमा पनि सक्रिय छिन्। उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीकी अध्यक्षसमेत हुन्।

आफ्नो काम र आम्दानीप्रति सन्तुष्ट रहेकी सीमाले भविष्यमा मनोविज्ञान अध्ययन गरी साइकोलोजिस्ट बन्ने लक्ष्य राखेकी छन्।

बच्चा हेर्ने कामबाट सुरु भएको उनको जर्मनी यात्रा आज स्वास्थ्य सेवा, अध्ययन र साहित्यिक नेतृत्वसम्म आइपुगेको छ। उनको यात्राले निरन्तर मेहनत, अध्ययन र नयाँ अवसरको सदुपयोगमार्फत जीवनमा परिवर्तन ल्याउन सकिने सन्देश दिएको छ।

सिमापारि — सीमापारिका नेपालीका संघर्ष, सफलता र प्रेरणाका कथा।