रुस–युक्रेन ऊर्जा युद्धविरामबारे ट्रम्पको दाबी, जेलेन्स्कीले मागे स्पष्टता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ऊर्जा पूर्वाधारमा एकअर्काविरुद्ध आक्रमण रोक्न सहमत भएको दाबी गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे आफूलाई पूर्वजानकारी नभएको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले तत्काल लागू हुने गरी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भएको उल्लेख गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले यो घोषणा आफ्ना लागि नयाँ भएको प्रतिक्रिया दिएका थिए। उनले रुस सहमत भएको हो भने युद्धविराम कहिलेदेखि लागू हुने हो भन्ने स्पष्ट पार्न आग्रह गरेका थिए। साथै, रुसले युक्रेनी ऊर्जा संरचनामा आक्रमण रोक्ने भए युक्रेनले पनि रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न सक्ने संकेत दिएका थिए।

यो घटनाक्रम रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका, रुस र युक्रेनबीच जारी कूटनीतिक प्रयास तथा मतभेदका बीच आएको हो।