सपनीमा ब्युँझाउन आउने, विपनीमा देखभेट नहुने, बल्लै भो भेट…
सपनीमा चुनु र मुनु, विपनीमा रैछ नि भेट हुनु, बल्लै भो भेट!
हाँसी देऊ, बोली देऊ, खोली मनपेट।
आज आको तपाईंको निम्तिमा, टाढाबाट ओराली घुम्तीमा…
त्यसो नभन, जाउला नै बारम्बार, तिमी पीपल, म हुन्छु लर्के बर।”
साँझको ११ बज्दै थियो। जब हामी दुबईबाट बसमा चढेर झिलिमिली सडक र रङ्गीचङ्गी भवनहरूका बीचबाट यूएईको अति व्यस्त सडक शेख जायेद रोडतिर लाग्यौँ, बाहिरी वातावरण अति सुन्दर थियो। विश्वकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफाबाट छरिएका प्रकाशका किरणले एक किसिमको आनन्द दिइरहेका थिए।
शेख जायेद रोडको दायाँपट्टि खचाखच यात्रु बोकेर चालकबिनाको मेट्रो रेल आफ्नै गतिमा कुदिरहेको थियो भने बेला-बेलामा स्टेसनमा घ्याच्चघ्याच्च रोकिन्थ्यो। बायाँतिर विभिन्न सप्तरङ्गी रङमा परिवर्तन हुँदै बुर्ज अल अरब होटलले आफ्नो स्वरूप देखाइरहेको थियो। बाहिर बत्तीको उज्यालोले झलमल्ल थियो। सडकको व्यस्तताले वातावरणलाई झन् चहलपहलपूर्ण बनाएको थियो। एकआपसमा प्रतिस्पर्धा गरेझैँ चिल्ला गाडीहरू कुदिरहेका थिए। विभिन्न आकारका कृत्रिम टावर र ती टावरबाट निस्किएका प्रकाशले बाहिरी वातावरणलाई अझ मनमोहक बनाएका थिए। शेख जायेद सडकको व्यस्ततामाथि दुई–तीन तलामाथि बनाइएका ओभरहेड क्रसिङ पुलहरूले अझ सुन्दरता थपेका थिए। साँच्चै, यो यात्रामा युरोपकै झल्को मिल्थ्यो।
३५ सिट भएको मिनीबसमा चार जना महिला र बाँकी सबै पुरुष थियौँ। दुबईबाट निस्कँदा धेरैजसो साथीहरू निद्राले धपक्क भइसकेका थिए। मैले पनि बसेको सिटमा कैयौँपटक निद्राले टाउको ठोक्काएँ। तर जब महिलाको आवाज गुञ्जियो, निद्रा सयौँ कोस पछाडि भाग्यो। सबै जुरुक्क उठ्न थाले।
चालकलाई माइकको व्यवस्था गर्न अनुरोध गरियो। अझै मलाई थाहा थिएन, के हुन लागेको हो भनेर। म भने सँगै बसेका मित्रसँग गफमा व्यस्त थिएँ। उनी भर्खरै महिलाको भेषमा नृत्य गरेर आएका थिए। बन्दीपुरको कुरा गर्दागर्दै उनले मोबाइलबाट आफू त्यहाँ पुगेर पिकनिक मनाएको भिडियो देखाए। मलाई त्यही ठाउँमा पुगेको अनुभूति भयो।
केही समयपछि माइकको व्यवस्था भइछाड्यो। अनि सँगै बसेका लोकगायक चुमन काउसा मगरबाट यो गीत फुत्कियो—
“सपनीमा ब्युँझाउन आउने, विपनीमा देखभेट नहुने, बल्लै भो भेट…”
उनले गीतको बिट मार्न नपाउँदै पछाडिबाट महिलाको तिखो आवाज आयो। मुटुमै रोपिएला जस्तै गरी जवाफ यसरी फर्कियो—
“आज आको तपाईंको निम्तिमा, टाढाबाट ओराली घुम्तीमा…”
बसभित्रको माहोल एकैछिनमा ४० डिग्रीभन्दा माथि पुगेझैँ तातियो। नाच्ने र थपडी मारेर मादलको ताल निकाल्ने सबै भए। हामीलाई बाहिर देखिएको कृत्रिम सहर, चिल्लो सडक, कृत्रिम भवन अनि सप्तरङ्गी किरण छर्ने उज्याला बत्तीहरूको कुनै मतलब भएन।
न त मादल थियो, न त कुनै गीतको ट्र्याक नै। महिलाले गीतको अन्तिम बिट मार्न नपाउँदै पुरुषतर्फबाट त्यस्तै तिखो वाण जान्थ्यो। महिलाहरू भने कतिबेला दोहोरी फर्काउने पालो आउला भनेर सोचिरहेका हुन्थे।
आहा! त्यो यात्रा एकैछिनमा नेपालको गाउँघरको दोहोरी साँझमा पुगेझैँ भयो। गीतकै भाकामा हामी एकआपसमा माया–पिरती गाँस्दै थियौँ, गाउँघर र रोधीघरको सम्झनालाई ब्युँताउँदै थियौँ। एकपछि अर्को चोटिला शब्दका प्रहार एकआपसमा भइरहेका थिए।
दुबईलाई छोडेर हामी अबुधाबी पुगिसकेका थियौँ। जब दुबईको सीमा सकिन्छ, त्यसपछि सडकको छेउछाउमा हरियाली वातावरण देख्न पाइन्छ। नेपालको यात्राको झझल्को त्यतिबेला हुन्छ, जब हामी अबुधाबीको सडकमा कुद्छौँ।
म उठीउठी ती तिखा स्वर भएका महिलाहरूको फोटो लिन खोज्थेँ। तर भित्र अँध्यारो भएकाले फोटो खिचिसकेपछि मात्र उनीहरूको अनुहार देखिन्थ्यो। कता–कता देखेजस्तो लाग्यो ती महिलाहरूलाई।
एड्नोकको पेट्रोल पम्पमा केही समयका लागि बस रोकियो। चिया–नास्ता गर्न र शौचालय जानका लागि सबै ओर्लिए। यही मौका छोपेर मैले एउटी महिलालाई सोधेँ, “तपाईंको नाम के हो?”
रातो पोसाक लगाएकी ती महिला शब्दले नै खाउँलाझैँ गरी ममाथि झम्टिइन्।
“योभन्दा पहिला पनि हाम्रो भेट भएको थियो। कति छिटो बिर्सनुभएको तपाईंले!”
उनको बोलीमा पूर्वेली ठेट नेपाली शब्द मिसिएको थियो। तर लोकगीतका शब्द र भाकाले भने उनी रोधीघरकी मंगर्नी माइलीजस्तै लाग्थिन्।
मैले नम्रताका साथ फेरि सोधेँ, “नाम के रे?”
“मधु हो, मधु!”
मेरो नाम पनि गाउँघरमा बोलाउने मधु नै थियो। दोहोरीमा गीतको भाकामा शब्दको जवाफ फर्काएजस्तै मलाई पनि उनको जवाफ फर्काऊँ–फर्काऊँ लागेको थियो। ‘म पनि मधु हुँ नि’ भनूँजस्तो लाग्यो। तर ‘कस्तो केटीको नाम रहेछ!’ भनेर जिस्क्याउलान् भन्ने लागेर भनिनँ।
उनले भनिन्, “आजभन्दा एक वर्षपहिला हत्ता, ओमानमा पिकनिकको बेला भेट भएको थियो।”
त्यतिबेला मैले यो अनुभूति लिन पाएको थिइनँ, त्यसैले उनलाई नचिनेको कुरा बताएँ। उनले पनि भनिन्, “हो नि त, हामी सँगै बसमा यात्रा गरेका थिएनौँ। हामीसँग यात्रा गर्दा यस्तै रमाइलो हुन्छ।”
केही क्षणको विश्रामपछि हामी फेरि गन्तव्यतिर हुइँकियौँ। फेरि त्यही चोटिला शब्दहरू। न मादल थियो, न त कुनै सङ्गीत नै। तर पनि सङ्गीतबिनाको गीत पनि अति सुनौँ–सुनौँ लाग्ने, मनै लोभ्याउने खालको थियो।
गीतमा मायापिरतीका मात्र कुरा भएनन्, विभिन्न किसिमका घोचपेच पनि भइरहे। बस गुडिरहेको थियो, भित्र भने गीतको तालमा अर्की महिला उठेर नाच्न थालिन्। करिब ३५ जना सबै नेपाली थियौँ, चालक भने पाकिस्तानी थिए।
घडीको सुईले कसरी १२:३० बजायो, पत्तै भएन। विगतमा यो सडकमा कि त चिन्तित मुद्रामा, कि त मस्त निद्रामा यात्रा गरिन्थ्यो। तर आज भने रोधीघरको सम्झना बिर्साउने, गाउँघरको चौतारी अनि देउरालीमा घन्किने दोहोरीको प्रत्यक्ष आनन्द लिइरहेका थियौँ।
करिब साढे दुई घण्टाको यात्रा अति रोचक र मनोरञ्जनपूर्ण तरिकाले बित्यो।
अबुधाबी सहरभित्र प्रवेश गर्दै थियौँ, तर दोहोरीगीत सकिएको थिएन। कार्यक्रममा दोहोरी भइहाले पनि कम्तीमा १० देखि १५ मिनेटसम्म मात्र हुन्थ्यो होला। तर साढे दुई घण्टासम्म प्रत्यक्ष आमनेसामने चलेको दोहोरीले मनै भुलायो।
सधैँझैँ, गत १८ फेब्रुअरी २०११ का दिन दुबई जाने मौका मिलेको थियो। म एक्लै गएको थिएँ। प्रवासी भूमिमा पनि बिहानको मौसमले नेपालकै वातावरणको सम्झना गराउँथ्यो। करिब दुई घण्टाको लामो यात्रापछि दुबई पुगेँ।
पहिलो कार्यक्रम जनप्रगतिशील मञ्चको जनयुद्ध दिवस मनाउने थियो। त्यो कार्यक्रम सकेर साँझ ६ बजे मगरहरूको सांस्कृतिक कार्यक्रममा पुगेँ। कार्यक्रम सेराटन फोर पोइन्ट्स होटलमा थियो, जहाँ यसअघि पनि गुरुङहरूको कार्यक्रम भएको थियो। त्यतिबेला पनि दर्शकहरूको घुइँचो लागेको थियो।
जब म भित्र छिरेँ, यसपालि पनि त्यस्तै रहेछ। दर्शकहरू बस्ने सिट नभएर वरिपरि उभिएर कार्यक्रम हेरिरहेका थिए। अलि ढिला पुगेको हुनाले पहिलो चरणको कार्यक्रम छुटेको थियो। सायद भाषण र आसनग्रहणको कार्यक्रम सकिएको थियो होला भन्ने अनुमान लगाएँ।
सांस्कृतिक कार्यक्रम चलिरहेको थियो। मगरहरूको भेषभूषामा सजिएका मगरनीहरू र मगरहरूको ओहोरदोहोरले गाउँघरको रोधीघरको सम्झना गराएको थियो। बेला-बेलामा रोधी, चुड्का, कौरा, पुराना लोकभाका, सारङ्गी, मादल र खैँजडीका आवाजले मनै चङ्गा भएको थियो।
दुबईको व्यस्त होटल, जहाँ पश्चिमी शैलीका पप र डान्सका धुन घन्किने गर्थे, त्यहाँ नेपाली ठेट लोकसङ्गीतका बाजा घन्किँदाको अनुभूति नै बेग्लै थियो। कार्यक्रममा नृत्य र गायन मात्र भएनन्, प्रत्यक्ष रूपमा कौडा, चुड्का आदि पनि प्रस्तुत भए। नेपालको तत्कालीन अवस्थालाई दर्शाउने हास्यप्रहसनसमेत देखाइएको थियो। कार्यक्रम कतिबेला सकियो, पत्तै भएन।
भोलिपल्ट अफिस जानुपर्ने भएकाले मनमनै तनाव बढिरहेको थियो। कतिबेला अबुधाबी पुग्ने भन्ने चिन्ता पनि थियो। पुराना साथी अर्थात् यूएईका स्थानीय कलाकार शिशिर थापा मगरलाई भेटेँ र सोधेँ, “तपाईं अबुधाबी जाने हो नि?”
रातको १० बजे हामी उहाँहरूसँगै अबुधाबीतर्फ हुइँकियौँ। जीवनमा पहिलोपटक दुबईदेखि अबुधाबीसम्मको यात्रामा यति रमाइलो महसुस गरेको थिएँ।
मगरहरूको कार्यक्रममा प्रत्यक्ष दोहोरी हुने भन्ने हल्ला चलेको थियो। कार्यक्रम अवधिभर कतिबेला दोहोरी होला भनेर कुरिरहेँ। तर कार्यक्रम सञ्चालकज्यूले समाप्त भएको घोषणा गर्नुभयो। मेरो त्यो धोको पूरा भएन।
जब गाडीमा चढेँ, अनि मात्र मेरो धोको पूरा भयो। पछाडिको सिटमा तीन जना महिला थिए। मलाई उनीहरूबाट यस्तो रमाइलो दोहोरी सुन्न पाइएला भन्ने विश्वासै लागेको थिएन।
दुबईको त्यो व्यस्त सडक हाम्रो लागि गाउँघरको चौतारी, देउराली अनि भञ्ज्याङजस्तै लागेको थियो।
यसपालिको यो यात्रा प्रवासको अर्को स्मरणीय अनुभव बनेर सकियो।