ट्रोम्सो, नर्वे। नर्वेको ट्रोम्सोस्थित नेपाली संस्था द नेपालीज सोसाइटी इन ट्रोम्सो (NESOT) ले दसैँको पूर्णिमाको अवसर पारेर ‘नेपाली सांस्कृतिक रात तथा दसैँ महोत्सव–२०२६’ आयोजना गरेको छ। विविधतामा एकता र नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यसहित नर्वेली तथा अन्य अन्तर्राष्ट्रिय पाहुनाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली समुदायका ४० भन्दा बढी सदस्य तथा नर्वेली र अन्य देशका २० भन्दा बढी पाहुनाहरू सहभागी भएका थिए। नेपाली संस्कृति, परम्परा, गीत, संगीत र नृत्यमार्फत आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
NESOT का अध्यक्षले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले नेपाली सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायमाझ नेपाली परम्पराको परिचय र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न सहयोग पुर्याएको भन्दै ट्रोम्सो नगरपालिका (Tromsø kommune) प्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रम सफल बनाउन स्वयंसेवकहरूले खाना तयार पार्ने, कार्यक्रमस्थल व्यवस्थापन गर्ने तथा गीत, संगीत र नृत्यमार्फत सांस्कृतिक प्रस्तुति दिने कार्यमा योगदान पुर्याएका थिए। अध्यक्षले उनीहरूको समय, मेहनत र समर्पणप्रति धन्यवाद व्यक्त गरेका छन्।
त्यसैगरी, कार्यक्रमका सुन्दर क्षणहरूलाई तस्बिरमार्फत कैद गरिदिएकोमा NESOT का सदस्य सुरजलाई विशेष धन्यवाद दिइएको छ।
नेपाली संस्कृति र परम्परालाई विदेशमा समेत जीवन्त राख्दै विभिन्न समुदायबीच आपसी समझदारी, सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित महोत्सवले नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसर प्रदान गरेको छ।
🇳🇵❤️🇳🇴

