फ्रान्समा किन चर्कियो विद्यार्थी आन्दोलन ?

royal Enfield -gorkha

Laxmi Sunrise Bank

मंगलबार, असोज २०, २०८३

9Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button
फ्रान्समा किन चर्कियो विद्यार्थी आन्दोलन ?

पेरिस । विद्यालय प्रणालीका लागि थप स्रोतसाधनको माग गर्दै सुरु आन्दोलन चर्किएको छ । किशोर–किशोरीले थालेको हप्तौँ लामो राष्ट्रव्यापी आन्दोलनको समर्थनमा मंगलबार वयस्क प्रदर्शनकारीले र्‍याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खडा गरेका छन् ।

पेरिसको २०औँ जिल्लामा रहेको ‘हेलेन बुचर’ उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारअगाडि प्रदर्शनकारीले फोहोरका डब्बा र साइकल तेर्स्याएर अस्थायी अवरोध बनाएका थिए ।

देशभरका सयौँ अन्य विद्यालयजस्तै यो विद्यालय पनि मंगलबार बन्द थियो । विद्यालयमा तोडफोडका घटना बढ्नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीले गत सातादेखि विद्यालय बन्द गर्न थालेका हुन् ।

मंगलबार बिहान अन्य सहर तथा नगरमा पनि प्रदर्शन भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारलाई समेत दबाबमा पारेको उच्च माध्यमिक विद्यालयसम्बन्धी आन्दोलनको समर्थनमा मजदुर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्‍यालीमा सहभागी भएका थिए ।

पेरिसको एक विद्यालयबाहिर धातुको बारमा टाँसिएको हातले लेखिएको प्लेकार्डमा भनिएको थियो, “तपाईं भन्नुहुन्छ, ‘युवाहरू नै भविष्य हुन्’, त्यसैले उनीहरूको कुरा सुन्नुहोस् ।”

प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ्दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको कडा प्रतिक्रियाको बचाउ गरेका छन् । पछिल्लो घटना सोमबार भएको थियो, जसमा १५ वर्षीय एक किशोरको हात प्रहरीको ‘स्टन ग्रेनेड’का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो ।

नुनेजले प्रदर्शनमा प्रहरीको प्रतिक्रिया लगभग सबै घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरे । किशोर–किशोरीमाथि व्यापक रूपमा गिरफ्तारी, अश्रुग्यास तथा दंगा नियन्त्रणका हतियार प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ । यसले प्रदर्शनकारी युवामा थप आक्रोश बढाउनुका साथै केही अभिभावक र शिक्षकलाई आक्रोशित बनाएको छ । नुनेजका अनुसार हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी घाइते भएका छन् ।

मंगलबार ‘हेलेन बुचर’ विद्यालयबाहिर अभिभावक तथा अन्य वयस्क प्रदर्शनकारी र निगरानीमा खटिएका प्रहरीबीच उभिएका थिए ।

विद्यालयमा अवरोध र प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको थियो । त्यसपछि यो आन्दोलन अन्य सहर तथा नगरमा पनि फैलिएको हो ।

प्रदर्शनकारीले विभिन्न गुनासो अघि सारेका छन्, जसको मुख्य केन्द्र फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’को प्रतिज्ञाका बाबजुद विपन्न विद्यालयका विद्यार्थीले पर्याप्त स्रोत र अवसर नपाएको विषयमा छ ।

विद्यार्थीले डेस्क र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलन नभएका कारण गर्मीमा अत्यधिक तात्ने कक्षाकोठा तथा केही अवस्थामा मुसाको समस्या रहेको गुनासो गरेका छन् । कर्मचारीको अभाव र अत्यधिक कार्यभार पनि उनीहरूका प्रमुख गुनासोमध्ये छन् ।

फ्रान्सेली उच्च माध्यमिक तहका विद्यार्थीको अनिवार्य कक्षाकोठा समय युरोपमै सबैभन्दा धेरैमध्ये एक रहेको छ । रासस/एपी