कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध

कांग्रेसले यसैपालि सिर्जना गरेको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मंगलबार भएको मनोनयनमा शर्माको मात्र उम्मेदवारी परेको हो ।
२०७८ को चौधौं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गत वर्ष पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति थिए । चौधौं महाधिवेशनमा उनी नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित भएका थिए ।
फरक–फरक प्यानलबाट निर्वाचित शर्मा र थापाको अग्रसरतामा गत वर्ष पुसमा विशेष महाधिवेशन गराइएको थियो । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले अहिले पनि त्यही पदमा उम्मेदवारी दिएका छन् । थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
चौधौं महाधिवेशनमा शर्मा र थापाको प्यानललाई नेतृत्व गरेका सिंह र कोइराला भने विशेष महाधिवेशनमा सहभागी थिएनन् । सिंह अहिले पूर्वसभापति शेरबहादुर देउवाको समूहमा रहेर समानान्तर महाधिवेशनमा जुटेका छन् । कोइराला भने तटस्थ छन् ।
झापाका शर्मा २०४१ मा नेविसंघको विद्यालय इकाइ समिति अध्यक्ष भएका थिए । उनी २०४५ सम्म मेची क्याम्पसको इकाइ अध्यक्ष थिए । उनी नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय अध्यक्ष बने । उनी नेविसंघको अध्यक्ष हुँदा गगन थापा उपाध्यक्ष थिए । कांग्रेसको तेह्रौं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका थिए ।