
ओस्लो, नर्वे ।
‘त्यता जान्न भनेनी नजर लाउन्न भनेनी, धारापानी तिरीक्कै, तिम्रै माया हिरीक्कै…’ सुनीमायालाई पञ्चेबाजाको लयको गीत’, ‘लाजको पर्दा’ लगायतका अनेकौं लोकप्रिय गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी मिठो स्वरकी धनी गायिका सुनितामी परियारले नर्वेमा बढ्दै गएको चिसो मौसमलाई एकाएक तताउने गरी ओस्लोस्थित नेपाली हाउस रेस्टुरेन्टमा अक्टोबर ४ आईतबारको दिन सांगीतिक माहोल सिर्जना गराईन् ।
बेलुका करिब ६ बज्दै गर्दा गायिका बिमा कुमारी दुरालेगाएको गित ‘झुपडी घर’, ‘साइँलो दाइ घरको छानो’ बिर्सिएर साइँलो दाइ’ नहुनु बिरानो गीतमार्फत परदेशमा रहेका नेपालीप्रति समर्पित गर्दै सांगीतिक कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
‘के छ दमाली’, ‘यो जीवन तिम्रै हो, राख सम्हाली’ लगायतका गीत गुञ्जिन थालेपछि दर्शकले तालीको गडगडाहटले हल नै गुञ्जायमान भएको थियो ।
कार्यक्रममा नर्वेमा रहेका नेपाली कलाकार विष्णु क्षेत्री, मदन बेलबासे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाका अध्यक्ष सुभाष पुन मगरको प्रस्तुतिले पनि सांगीतिक माहोललाई थप तताएको थियो ।
समयले नेटो काट्दै थियो । दिउँसोको काम सकेर नेपालीहरू कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रम जारी थियो । तर हलभित्र भने गीत–संगीतको माहोल झन् बाक्लिँदै गएको थियो ।
सुनितामी परियारले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शक तथा अतिथिहरूलाई नाच्न बाध्य बनाइन् । उनका गीतमा दर्शकको उत्साह यति बढ्यो कि एनआरएनए एनसीसी नर्वेका संस्थापक अध्यक्ष कुमार पण्डितसमेत आफ्नो स्थान छोडेर नाच्न पुगे ।
त्यसपछि एनआरएनए एनसीसी नर्वेका वर्तमान उपाध्यक्ष देवभक्त श्रेष्ठ, सल्लाहकार श्याम परियार, सदस्य ईमान मगर, नेपोज नर्वेका अध्यक्ष प्रेम परियार, ४ भाइ इभेन्टका हिक्मत घर्तीमगर, स्याम लगायतका उपस्थित अतिथिहरू पनि जुरुक्क उठेर गायिका सुनितामीसँगै नाच्न थाले ।
कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूको उत्साहले नेपाली हाउसको माहोल निकै रमाइलो र उल्लासमय बनेको थियो ।
समय भने आफ्नो गतिमा अघि बढिरहेको थियो । नर्वेमा आइतबार प्रायः बिदाको दिन भए पनि सोमबार बिहानै काममा जानुपर्ने भएकाले कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्नुपर्ने अवस्था थियो । नेपाली हाउसका सञ्चालक लक्ष्मण सापकोटाले समेत समयको ख्याल गर्दै कार्यक्रमलाई समापनतर्फ लैजान सम्झाइरहेका थिए ।
तर सुनितामी परियारका गीतहरू भने सकिने छाँटकाँटमा थिएनन् । उनी आफैं पनि नाच्दै, दर्शकलाई समेत नचाउँदै र बीच–बीचमा छोटो सम्बोधन गर्दै कार्यक्रमलाई थप आकर्षक बनाइरहेकी थिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको आयोजनामा सञ्चालन भएको उक्त सांस्कृतिक कार्यक्रममा रिता परियार, प्रेम परियार र सुभाष पुन मगरको सहआयोजना रहेको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाका निवर्तमान अध्यक्ष तथा मिठो स्वरका धनी लोकप्रिय कलाकार भगवान भुजेलले गरेका थिए । कार्यक्रमलाई व्यवस्थित बनाउन लोकप्रिय गायक विष्णु क्षेत्रीले साउन्ड सिस्टमको जिम्मेवारी सम्हालेका थिए ।