गृहमन्त्री सुदन गुरुङ क्षेत्रीय गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान

गृहमन्त्री सुदन गुरुङ उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतमा आयोजना हुने बंगालको खाडी क्षेत्रीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गतको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

सदस्य राष्ट्रहरूबीच सुरक्षा सहयोग, कानुन कार्यान्वयन र आन्तरिक सुरक्षाका क्षेत्रमा बहुपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकलाई क्षेत्रीय सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

बैठकमा क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा चुनौती, आतंकवादविरुद्ध सहकार्य तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

खुला सीमा, जलवायु परिवर्तनबाट उत्पन्न विपद् तथा प्रविधिमा आधारित संगठित अपराधका चुनौतीलाई ध्यानमा राख्दै नेपालले सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदानप्रदान र सुरक्षा निकायको क्षमता अभिवृद्धिमा जोड दिने अपेक्षा गरिएको छ।

बैठकमा गृहमन्त्री गुरुङको सहभागिताले क्षेत्रीय सुरक्षा सहकार्य र सदस्य राष्ट्रहरूबीचको आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।