बेनी–जोमसोम सडकमा सास्ती, साँघुरो अस्थायी मार्गमा घण्टौँ जाम

म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गरिए पनि यात्रु र चालकले सास्ती खेप्नुपरेको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो। नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण तथा पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

तर साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको यात्रु तथा चालकले बताएका छन्। एकतर्फी मार्गमा सवारीसाधन व्यवस्थापन गर्न कठिन हुँदा यात्रा समय लम्बिने र दुर्घटनाको जोखिमसमेत बढ्ने चिन्ता व्यक्त गरिएको छ।