रियाद । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
प्राप्त विवरणअनुसार मृतक तथा घाइतेको राष्ट्रियताबारे पूर्ण विवरण सार्वजनिक गरिएको छैन। घटनाका कारण विमानस्थलका भौतिक संरचनामा समेत क्षति पुगेको छ। क्षतिको यकिन विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।
घटनापछि सुरक्षा अवस्था जाँच गर्न र क्षतिको मूल्याङ्कन गर्न विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।
यसअघि बिहीबार पनि विमानस्थलमा भएका आक्रमणमा तीन साउदी नागरिकको मृत्यु भएको र अन्य केही घाइते भएको विवरण सार्वजनिक भएको थियो। विमानस्थलमा पटकपटक भएका घटनाले त्यहाँको सुरक्षा अवस्थाबारे चिन्ता बढाएको छ।
यसैबीच, घटनाबाट हालसम्म कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त नभएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार खाडी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे थप जानकारी सङ्कलन गर्ने काम भइरहेको छ।
साउदी अरबमा चार लाखभन्दा बढी नेपाली आप्रवासी कामदार रहेको अनुमान छ। तर किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन।
दूतावासले घटनाको अवस्थाबारे निगरानी गरिरहेको र नेपाली नागरिक प्रभावित भए–नभएको विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ।
