भाइभेटमा ‘Internasjonal Familiedag’ सम्पन्न, नेपालको प्रतिनिधित्व गर्दै तामाङ समाज नर्वेको सांस्कृतिक प्रस्तुति
ओस्लो, २६ सेप्टेम्बर २०२६।
ओस्लोको भाइभेटस्थित Kulturhuset Veitvet मा विभिन्न देशका संस्कृति, कला, परिकार र सांस्कृतिक प्रस्तुतिसहित ‘Internasjonal Familiedag’ (अन्तर्राष्ट्रिय पारिवारिक दिवस) भव्य रूपमा सम्पन्न भएको छ।
‘एकै ठाउँमा विश्वको विविधता अनुभव गर्नुहोस्’ भन्ने भावनासहित आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न समुदायका परिवारहरूको उल्लेख्य सहभागिता रहेको थियो। दिउँसो १२ बजेदेखि १५:३० बजेसम्म सञ्चालन भएको कार्यक्रम सबैका लागि निःशुल्क खुला गरिएको थियो।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै तामाङ समाज नर्वेको तर्फबाट नीमा तामाङ लामा र प्रिती श्रेष्ठले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। नेपाली संस्कृति र परम्परालाई झल्काउने उक्त प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शकको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमको सांस्कृतिक मञ्चमा नर्वेजियन परम्परागत लोकनृत्यसँगै चिनियाँ, नेपाली, तमिल, भारतीय, पाकिस्तानी, थाई, तिब्बती, जापानी, ब्राजिलियन, युक्रेनी, लात्भियन तथा सोमाली समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति राखिएका थिए।
जापानी परम्परागत मार्सल आर्ट केन्डो, ब्राजिलियन साम्बा, युक्रेनी सांगीतिक प्रस्तुति तथा विभिन्न देशका लोकनृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा विभिन्न देशका परिकारको स्वाद लिन सकिने व्यवस्था, सांस्कृतिक प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिएको थियो।
Drømmefanger, Veitvet & Sletteløkka Kulturforum, Kulturhuset Veitvet, Veitvet Senter, रेडक्रस ओस्लो, Frivillig तथा ओस्लो नगरपालिका लगायतका संस्था तथा निकायको सहयोगमा आयोजित कार्यक्रमले बहुसांस्कृतिक समुदायबीच आपसी परिचय, एकता, सद्भाव र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको थियो।
नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै कार्यक्रममा सहभागी भएको तामाङ समाज नर्वेले नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा योगदान दिएको छ।