मेस्सीको भावुक बिदाइ : ‘म अर्जेन्टिनाका लागि जीवनभर खेल्न चाहन्थें’
Screenshot

मेस्सीको भावुक बिदाइ : ‘म अर्जेन्टिनाका लागि जीवनभर खेल्न चाहन्थें’

ब्युनस आयर्स । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट बिदाइ लिँदै भावुक सम्बोधन गरेका छन्। अर्जेन्टिनाको जर्सीमा दुई दशक लामो यात्रा पूरा गरेका मेस्सीले राष्ट्रिय टोलीबाट अब टाढा रहनु आफूका लागि निकै कठिन हुने बताएका छन्।

बिदाइ समारोहमा बोल्दै मेस्सीले भने, “यदि मेरो हातमा भएको भए, म जीवनभर अर्जेन्टिनाका लागि खेलिरहन्थें। अर्जेन्टिनाका लागि खेल्नु संसारकै सबैभन्दा सुन्दर कुरा हो।”

मेस्सीले आफ्नो सम्बोधनको सुरुवातमै आफ्ना पिता आफूले सम्झिएको बताए। उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले २० वर्षसम्म कठिन परिस्थितिका बाबजुद संघर्ष गरेको र सधैँ आफ्नो शतप्रतिशत दिएको स्मरण गरे।

उनले सन् २०२२ को विश्वकप जित्नु आफ्नो मात्र नभई सम्पूर्ण अर्जेन्टिनालीको सपना पूरा भएको बताए। विश्वकपसँगै कोपा अमेरिका र फिनालिसिमाजस्ता उपाधि जित्न पाएकोमा उनले राष्ट्रिय टोलीप्रति आभार व्यक्त गरे।

मेस्सीले उपाधि जित्नुमा आफू मात्र नभई वर्षौँसम्म आफूसँगै संघर्ष गरेका सम्पूर्ण सहकर्मी खेलाडीहरूको महत्वपूर्ण योगदान रहेको बताए।

“यो समूहले मलाई बाल्यकालदेखि देखेको सपना पूरा गर्न सहयोग गर्‍यो। उनीहरूले मलाई विश्व च्याम्पियन बन्न मद्दत गरे,” उनले भने।

समर्थकहरूप्रति पनि मेस्सीले विशेष आभार व्यक्त गरे। अर्जेन्टिनाका विभिन्न शहरदेखि विश्वका अन्य देशसम्म खेल्दा स्टेडियममा अर्जेन्टिनाका समर्थकहरूको निरन्तर उपस्थितिले आफूलाई सधैँ घरमै खेलिरहेको अनुभूति भएको उनले बताए।

उनले आगामी दिनमा राष्ट्रिय टोलीलाई अझ बढी समर्थन गर्न समर्थकहरूलाई आग्रह गरे। कठिन समय आउँदा टोलीलाई एकताबद्ध भएर साथ दिनुपर्ने उनको भनाइ थियो।

आफ्नो बिदाइबारे बोल्दै मेस्सीले भने, “आज सायद मेरो जीवनको सबैभन्दा दुःखद दिनमध्ये एक हो, किनकि म यहाँ उभिएर बिदाइ भन्दैछु।”

उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई आफूले सधैँ समर्थन गरिरहने बताउँदै भने, “म तपाईंहरू सबैलाई धेरै सम्झनेछु, तर म सधैँ तपाईंहरूको पक्षमा हुनेछु। यी खेलाडीहरू र उनीहरूपछि आउने सबैलाई म समर्थन गरिरहनेछु।”

अन्त्यमा मेस्सीले आफू अर्जेन्टिनाली भएकोमा गर्व रहेको बताउँदै भावुक शब्दमा भने—

“म कृतज्ञ, गौरवान्वित र शान्त मनले बिदा हुँदैछु। सबै कुराका लागि धन्यवाद। म तपाईंहरू सबैलाई माया गर्छु र अर्जेन्टिनाली भएकोमा गर्व गर्छु।” 🇦🇷❤️