ब्युनस आयर्स — अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीमाथि बेनिनका एक खेलाडीसँग सेल्फी खिच्न अस्वीकार गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा जातीय भेदभावको आरोप लागेको छ।
बुधबार बिहान मोनुमेन्टल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गरेको थियो। खेलपछि मेस्सीले बेनिनका खेलाडीहरूसँग अभिवादन गर्दै राष्ट्रिय टोलीका रूपमा आफ्नो अन्तिम क्षण मनाइरहेका थिए। त्यसै क्रममा एक बेनिन खेलाडीले मेस्सीसँग सेल्फी लिन खोजेका थिए। तर मेस्सीले सेल्फीका लागि रोकिएनन् र त्यहाँबाट अघि बढे।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि केही प्रयोगकर्ताले मेस्सीको व्यवहारलाई आलोचना गर्दै जातीय भेदभावसँग जोडेर टिप्पणी गरेका छन्। केहीले उनलाई विनम्रता नदेखाएको आरोपसमेत लगाएका छन्।
तर, घटनालाई फरक ढंगले हेर्नेहरू पनि छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार उक्त समय समारोह सुरु भइसकेकाले मेस्सीलाई नजिक नजान बेनिनका खेलाडीलाई भनिएको हुन सक्ने र पछि फोटो खिच्न सकिने अवस्था रहेको दाबी गरिएको छ।
खेलका क्रममा भने मेस्सीले बेनिनका खेलाडीप्रति कुनै अपमानजनक व्यवहार गरेको देखिएको थिएन। खेलको १०औँ मिनेटमा समर्थकहरूले मेस्सीलाई सम्मान गर्दै ताली बजाउँदा उनले बेनिनका खेलाडीहरूसँग अभिवादन तथा आलिङ्गनसमेत गरेका थिए।
त्यसैले अहिलेको विवाद मुख्यतः सेल्फीका लागि मेस्सी नरोकेको केही सेकेन्डको भिडियो र त्यसबाट सामाजिक सञ्जालमा गरिएको व्याख्यामा केन्द्रित छ। मेस्सीले उक्त घटनाबारे जातीय कारणले सेल्फी अस्वीकार गरेको भन्ने कुनै सार्वजनिक स्पष्टीकरण दिएका छैनन्।
