मोना डेनमार्कको प्रथम मोना कप भलिबल प्रतियोगिता सम्पन्न, नेपाली ब्रदर्स डेनमार्क च्याम्पियन
Screenshot

मोना डेनमार्कको प्रथम मोना कप भलिबल प्रतियोगिता सम्पन्न, नेपाली ब्रदर्स डेनमार्क च्याम्पियन

डेनमार्क। मोना डेनमार्कको आयोजनामा सम्पन्न प्रथम मोना कप खुला युरोपस्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नेपाली ब्रदर्स डेनमार्कले प्रथम स्थान हासिल गर्दै ३ हजार ३३३ युरो पुरस्कार जितेको छ भने अस्ट्रियाको युरोपियन स्पोर्ट्स क्लब दोस्रो हुँदै १ हजार ७७७ युरो पुरस्कार प्राप्त गर्न सफल भएको छ।

प्रतियोगितामा मोना डेनमार्क ‘ए’ र ‘बी’, इश्वेज हिरोज डेनमार्क, बागलुङ सेवा समाज डेनमार्क, नेपाली ब्रदर्स डेनमार्क, मोना बेल्जियम तथा युरोपियन स्पोर्ट्स क्लब अस्ट्रियासहित सात टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। उत्कृष्ट लिब्रोमा सोवित रानामगर, उत्कृष्ट सर्भरमा नवीन महतो, उत्कृष्ट सेटरमा छम कुँवर, उत्कृष्ट ब्लकरमा कुमार छन्त्याल, उत्कृष्ट स्पाइकरमा सूर्य विक र उत्कृष्ट खेलाडीमा सन्तोष श्रेष्ठ घोषित भए।

खेलका क्रममा घाइते भएका युरोपियन स्पोर्ट्स क्लबका खेलाडी जीवन सुनारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीलाई धन्यवाद व्यक्त गरेको छ।

प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी, प्रायोजक, स्वयंसेवक तथा शुभेच्छुकप्रति मोना डेनमार्कले आभार व्यक्त गरेको छ। त्यसैगरी, प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्‍याउने नेपाल भलिबल एसोसिएसन समन्वय समिति डेनमार्क, समितिका अध्यक्ष रमेश क्षेत्री, गोकुल केसी, खेमबहादुर अधिकारी तथा अफिसियलको भूमिकामा सहयोग गर्ने विशाल गुरुङ, रमेश क्षेत्री र उमेश न्यौपानेलगायत सबैलाई धन्यवाद दिइएको छ।

कार्यक्रममा मोना आईईसीका अध्यक्ष तथा विशिष्ट अतिथि मिम पुर्जा र एनआरएनए डेनमार्कका अध्यक्ष निल थापाको उपस्थिति रहेको थियो।

मोना डेनमार्कका अध्यक्ष मिलन खत्रीले प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने कार्यसमितिका सदस्य, अग्रज, समकक्षी, खेलाडी, कलाकार तथा स्वयंसेवकप्रति विशेष आभार व्यक्त गरेका छन्। उनले कार्यक्रमका क्रममा आफूबाट कुनै त्रुटि भएको भए क्षमा गरिदिन आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक हित र सामूहिक एकतालाई प्राथमिकता दिँदै आएको बताएका छन्।

अध्यक्ष खत्रीले मोना डेनमार्कसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग, हौसला र शुभेच्छा प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सद्भावको अपेक्षा गरेका छन्।

— सिमापारि समाचार