सिमापारि डेस्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनार दाङमा निर्धारित कार्यक्रम छाडेर फर्किएका छन्। बाँकेकी एक पूर्वमन्त्रीसँग जोडिएको धम्कीपूर्ण भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै उनी फर्किएका हुन्।
रास्वपाले आगामी निर्वाचनको तयारीस्वरूप सर्वेक्षण तथा छलफलका लागि सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा शाही (डिम्पल) सहितको टोली दाङ पठाएको थियो। टोलीले तुलसीपुर र पश्चिम दाङका विभिन्न पालिकामा कार्यक्रम गर्ने तयारी गरेको थियो।
यसैक्रममा घोराही लगायतका क्षेत्रमा छलफल भएको थियो। सांसद सुनार सहभागी नभए पनि अन्य दुई सांसदले बंगलाचुली गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेका थिए।
रास्वपा दाङका सभापति किरण खाँका अनुसार सांसद सुनारलाई बिहानै फिर्ता बोलाइएको थियो भने अन्य कार्यक्रम यथावत् राखिएको थियो।
पार्टीका महासचिवले अनुशासन आयोगबाट छानबिन पूरा भई निर्णय नआएसम्म सांसद सुनारलाई पार्टीको प्रतिनिधिका रूपमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको बताइएको छ। सार्वजनिक भएको अडियोमा सुनारकै आवाज रहेको विषय भने स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।