नर्वेमा दशैँ–तिहार विशेष कार्यक्रम आयोजना हुँदै

नर्वेमा दशैँ–तिहार विशेष कार्यक्रम आयोजना हुँदै

नर्वेको टोर्सभिकस्थित Folkets Hus मा आगामी नोभेम्बर ७ तारिख शनिबार ‘दशैँ–तिहार विशेष कार्यक्रम २०२६’ आयोजना हुने भएको छ।

‘हाम्रो कम्युनिटी, हाम्रो पहिचान’ भन्ने नारासहित हाम्रो कम्युनिटी नर्वेले आयोजना गर्न लागेको कार्यक्रममा नेपाली संस्कृति, परम्परा, गीत–संगीत र आपसी सद्भावलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन, मनोरञ्जनात्मक गतिविधि, स्वादिष्ट नेपाली परिकार तथा दशैँ–तिहारको रमाइलो वातावरण मुख्य आकर्षणका रूपमा रहनेछन्।

कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार १५ वर्ष वा सोभन्दा माथिका सहभागीका लागि २५० क्रोनर र १० देखि १४ वर्ष उमेर समूहका लागि १०० क्रोनर प्रवेश शुल्क तोकिएको छ। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

विदेशमा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई जोगाउँदै नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकले नर्वेमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई दशैँ–तिहारको खुसी साटासाट गर्न आग्रह गरेको छ।