नर्वेमा १० वर्षपछि फेरि गुञ्जियो लाखेको झ्याली : नेवा: सोसाइटी नर्वेको इन्द्रजात्रामा देखियो काठमाडौंको झल्को 

नेपालमा ईन्द्र जात्रा भर्खरै सकिएको थियो तर नर्वेमा भने सुरु हुदै थियो । त्यहाँको माहोल हेर्दा लाग्थ्यो—यो नर्वे होइन, काठमाडौंको असनचोकमै इन्द्रजात्रा चलिरहेको छ।

दिउँसोको २ बज्दै थियो। नर्वेको ओस्लो नजिकै नेपालीहरूको बाक्लो बसोबास रहेको भाइभेट सेन्टर बाहिरैदेखि नेपालको झल्को दिने दृश्य देखिन थालेको थियो। पुरुषहरू कोही हाकुपटासीसँग मिल्ने नेवारी पहिरन, कोही दौरा–सुरुवाल, ढाका टोपी तथा नेवारी शैलीका परम्परागत पोशाकमा सजिएका थिए भने महिलाहरू हाकुपटासी, मिसा, पटुका, चुरा, पोते तथा परम्परागत नेवारी गहनासहित चिरिच्याट्ट देखिन्थे।

भाइभेट सेन्टरभित्र छिर्नेबित्तिकै झनै बाक्लो उपस्थिति देखिन्थ्यो। स–साना बालबालिकादेखि युवा–युवती र ज्येष्ठ नागरिकसम्म अधिकांश नेवारी संस्कृतिको झल्को दिने पहिरनमा सजिएका थिए। केहीबेरका लागि नर्वेको चिसो वातावरण बिर्साएर उक्त दृश्यले सबैलाई काठमाडौंको इन्द्रचोक र असनतिरै पुर्‍याएको अनुभूति गराएको थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलन तथा राष्ट्रिय गानबाट गरिएको थियो। कार्यक्रममा नेवा: सोसाइटी नर्वेका अध्यक्ष नयन मल्लले शुभकामना मन्तव्य दिँदै इन्द्रजात्राको महत्वबारे जानकारी गराएका थिए। त्यसैगरी मनोहर प्रधानले **‘काठमाडौंको इन्द्रजात्रादेखि ओस्लोसम्म’**को यात्रा, यसको महत्व र नर्वेमा इन्द्रजात्रा मनाउनुको सांस्कृतिक पक्षबारे जानकारी गराएका थिए।

कार्यक्रम सञ्चालिका रजनी श्रेष्ठले सांस्कृतिक कार्यक्रमको सुरुवात गराएसँगै कलाकारहरूले नेवारी भाषाका गीत तथा नृत्य प्रस्तुत गर्न थाले। कलाकार कलातारहकुले नेवारी भाषाको गीतमा नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको माहोल थप रमाइलो बनेको थियो।

तर जब लाखे नाच र पुलुकिसी नाचको उद्घोष भयो, हलको रौनक नै फरक भयो।

राजन सिवाकोटीले ठूलो झ्याली झ्याईँ–झ्याईँ बजाउँदै प्रवेश गरे। त्यसलगत्तै बोदराज खनालले ढलकीको तालमा माहोल तताए। रातो पहिरनमा सुरेन्द्र सागाछे लाखे बनेर स्टेजमा निस्किएपछि दर्शकले हल नै जुरुक्क उठाएझैँ ताली बजाए।

त्यसपछि सञ्जीव श्रेष्ठ, आशिष श्रेष्ठ र नयन मल्ल पुलुकिसी लिएर स्टेजमा आइपुगे। नेवार समुदायले इन्द्रजात्राका अवसरमा निकाल्ने प्रसिद्ध परम्परागत मकुण्डो/नाचका रूपमा चिनिने पुलुकिसी स्टेजमा देखापरेसँगै कार्यक्रमको माहोल नै बदलियो।

करिब १५ मिनेटसम्म चलेको लाखे तथा पुलुकिसी नाचले दर्शकलाई भरपूर मनोरञ्जन दिलायो। लाखे नाच्दै–नाच्दै बीच–बीचमा दर्शकबीच पुगेर बसिरहेका मानिसलाई जिस्क्याउने र नचाउने दृश्य निकै रमाइलो थियो। दर्शकहरू पनि हाँसो, ताली र उत्साहका साथ कार्यक्रममा रमाइरहेका थिए।

लाखे नाचलगत्तै विभिन्न नेवारी परम्परागत गीत तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। अनिसा, सरिता, रुजीना, बिमी महेश, इभाना कविता, प्रविना, सुनिता, सरिता रुहानशी, रोशनी धौभञ्जन, सञ्जीव श्रेष्ठ, मनोहर प्रधान, सुधामान श्रेष्ठ, रजनी श्रेष्ठलगायतका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। साउन्ड सिस्टमतर्फ सिजोन गुरुङ र मौसम नेपालले सहयोग गरेका थिए।

समयले नेटो काट्दै थियो। कार्यक्रम समापनतर्फ अघि बढ्दै गर्दा नजिकै नेवारी परम्परागत ‘समय बजी नेवारी खाजा सेट’ तयार थियो। सहभागीहरू लाइनमा बसेर समय बजीको खाजा सेट हातमा लिँदै मुख मिठ्याउन थाले।

खाजा सेटमा चिउरा/बजी, भुटेको भटमास, बारा, छोइला, आलु तथा आलुको अचार, अण्डा, हरियो साग/तरकारी, अचार र जेरी राखिएको थियो। त्यस्तै छुट्टै कटोरामा आलु, केराउ/सिमी र तामासहितको मिश्रित झोल तरकारी पनि थियो। नेवारी स्वाद र परम्परालाई बोकेको उक्त खाजाले सहभागीलाई नर्वेमै बसेर पनि नेपालकै नेवारी भोजको स्वाद चखाएको थियो।

नर्वेमा पहिलो पटक सन् २०१६ मा इन्द्रजात्रा मनाइएको थियो। त्यसको १० वर्षपछि सन् २०२६ मा नेवा: सोसाइटी नर्वेले दोस्रोपटक भव्य रूपमा इन्द्रजात्रा महोत्सव आयोजना गरेको हो।

नर्वेमा करिब ८ सयको हाराहारीमा नेवारी समुदायको बसोबास रहेको अनुमान गरिन्छ। काम तथा समयको अभावका कारण सबै समुदायका सदस्य कार्यक्रममा उपस्थित हुन नसके पनि उपस्थित भएकाहरूले भने आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई परदेशमा समेत जीवन्त राख्ने प्रयास गरे।

नेपालबाट हजारौँ किलोमिटर टाढा नर्वेको भूमिमा जब लाखेको झ्याली बज्यो, पुलुकिसी नाच्यो, नेवारी गीत गुञ्जियो र समय बजीको सुगन्ध फैलियो, त्यतिबेला केही घण्टाका लागि नर्वे साँच्चिकै काठमाडौं बनेको थियो।

नेवा: सोसाइटी नर्वेको आयोजनामा इन्द्रजात्रा महोत्सव २०२६ भव्य रूपमा सम्पन्न भएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *