नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको सभापतिमा विजयी भएका छन्। सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै भारी मतान्तरसहित विजय हासिल गरेका हुन्।

सभापति पदमा थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो।

कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। बदर मतलाई गणना नगर्दा उनको मत प्रतिशत ९४.२५ प्रतिशत पुगेको छ। त्यस्तै, खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन्। थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पुस्तान्तरणको अभियानमा सक्रिय रहँदै आएका थिए। तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई पार्टी सभापतिको नेतृत्वमा पुर्‍याएको थियो।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयलाई लिएर बहस तथा विवाद उत्पन्न भएको थियो। त्यसपछिको १५औँ महाधिवेशनबाट सभापतिमा विजयी भएसँगै थापाले पार्टीको नेतृत्वलाई औपचारिक रूपमा अघि बढाउने अवसर पाएका छन्।

थापाको विजयलाई नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानका रूपमा हेरिएको छ। अब पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सुदृढ गर्ने, कार्यकर्तामा नयाँ उत्साह जगाउने र आगामी राजनीतिक चुनौतीको सामना गर्ने जिम्मेवारी उनको काँधमा आएको छ।