नर्वेको जंगलमा हिँड्दा भेटिएको नेपाल

नर्वेको जंगलमा हिँड्दा भेटिएको नेपाल

यात्रा भनेको ठाउँ मात्र बदल्नु होइन रहेछ, कहिलेकाहीँ आफूभित्र कतै हराएर बसेका पुराना दिनहरूलाई फेरि भेट्नु पनि रहेछ।

बिहान करिब १० बजेको समय। बाहिर नर्वेको चिसो मौसम थियो। हावामा सिरसिरे चिसो थियो, आकाश अलि धुम्म। पानी पर्ने छाँटकाँट भने देखिँदैनथ्यो। तर मनभित्र भने यात्राको उत्साहले न्यानोपन भरिएको थियो।

प्रवास नेपाली सम्पर्क विभाग नर्वेले आयोजना गरेको ‘सेर्पा हाइकिङ’मा सहभागी हुन बिहानैदेखि तयार थिएँ।

झोलामा पानी, केही खानेकुरा र बाटोमा चाहिने सानातिना सामान राखेँ। करिब साढे ९ बजेतिर घरबाट निस्किएँ। थयन पुगेपछि प्रदिप आले मगर भाइलाई फोन गरेँ—

“दाइ, म त रेडी भएँ है, आउनु।”

भाइ पनि मेट्रो स्टेशनमा पहिल्यै आइपुग्नुभएको रहेछ। हामी भेट भयौँ र सँगै मेट्रो चढ्यौँ।

अर्को स्टेशनमा मेट्रोभित्र केही नेपालीहरूको समूह देखियो। हेर्दा हाइकिङमै जान लागेजस्तो लाग्यो। हात हल्लायौ तर हामी अली पछीको सिटमा थियौ उहाहरु अगाडी हुनुहुन्थ्यो ।

हामी निर्धारित ठाउँमा पुग्यौँ। घडीमा बिहानको १०:४५ भएको थियो र सुचनामा पनि यही समय भेट हुने कुरा थियो । प्रदिप भाई हातको घडी देखाउदै भन्न थाले, हेर्नुहोस् दाई हामी भनेको सही समयमा आईपुग्यौ । 

लिफ्टबाट माथि उक्लिँदै गर्दा रञ्जन लामा भाई पहिल्यै पुगिसक्नुभएको रहेछ। लिफ्टको अगाडि बसेर उहाँले एक–एक जनासँग हात मिलाउँदै स्वागत गरिरहनुभएको थियो।

बाहिर चिसो थियो, तर उहाँको स्वागत न्यानो थियो।

बिस्तारै अन्य साथीहरु हरी सनजेल, सरोज थापा, होमनाथ अधीकारीलगायत साथीहरू आइपुग्नुभयो। केही महिला साथीहरू, बालबालिका र अन्य सहभागीहरू पनि थपिँदै गए।

हेर्दाहेर्दै करिब २५–३० जनाको समूह तयार भयो।

केही बेर बाहिर उभिँदा चिसो हावाले शरीर सिरिङ्ग बनायो। सबै साथीहरू आइपुगेपछि बल्ल हाम्रो यात्रा सुरु भयो।

सुरुमा अलिकति उकालो लाग्यौँ।

केही माथि पुगेपछि एकछिन सोच्यौँ—

“यो बाटोबाट त छिट्टै पुगिने रहेछ। तर हाइकिङमा आएर छिट्टै पुगेर के मजा?”

अनि फेरि तल फर्कियौँ।

लामो बाटो रोज्यौँ।

सुरुमा वरिपरि घरैघर थिए। सफा, चिटिक्क र व्यवस्थित हाउसिङ। एकछिन त यस्तो लाग्यो—हामी जंगल होइन, कुनै व्यवस्थित बस्ती घुमिरहेका छौँ।

तर बिस्तारै ती घरहरू पछाडि छुट्दै गए।

अनि सुरु भयो—

नर्वेको जंगलसँग हाम्रो भेट

अक्टोबरको सुरुवातसँगै नर्वेको जंगलले आफ्नो रूप फेर्दै थियो।

हरिया पातहरू पहेँला हुँदै थिए। पहेँलाहरू रातोतिर ढल्किँदै थिए। कतै हरियो, कतै पहेँलो, कतै रातो।

बाटो समथर थियो। कोही साथी अगाडि, कोही पछाडि। कसैलाई हतार थिएन। सबै आफ्नै गतिमा हिँडिरहेका थियौँ।

त्यत्तिकैमा बाटोको छेउमा परिचित वनस्पति देखियो। सिस्नु!

नेपालका पाखापखेरामा भेटिने त्यही सिस्नु नर्वेको जंगलमा देख्दा मन एकाएक नेपाल पुग्यो।

सिस्नुको साग पकाएर खानुको मजा नै बेग्लै हुन्छ,” साथीहरूले भन्न थाले।

अलि पर निउरो पनि देखियो। नेपालमा कतै निउरो, कतै उनीउ भनिने त्यही वनस्पति।

बाटोका छेउमा ठूला–ठूला ढुंगा थिए। ढुंगामा हरियो लेउ लागेको थियो। झरेका पातहरू त्यसैमा मिसिएका थिए।

लाग्थ्यो, जंगलले हामीलाई स्वागत गर्न आफ्नै गलैँचा बिछ्याइदिएको छ।

करिब आधा घण्टा हिँडेपछि एउटा विश्राम गर्ने ठाउँ भेटियो। नेपालमा भएको भए सायद हामी त्यसलाई चौतारी भन्थ्यौँ।

तर त्यहाँ एउटा सानो क्याफे थियो। काठैकाठले बनेको त्यो क्याफे निकै आकर्षक थियो। काठका पुराना सामग्री र सजावटले ठाउँलाई झन् आत्मीय बनाएको थियो।

कसैले कफी पिए। कसैले विश्राम गरे। त्यहा हामीले सामूहिक फोटो खिच्यौँ।

त्यहाँबाट अगाडि देखिन्थ्यो—सेर्पा दाजुभाइहरूले बनाएको ढुंगे सिँढी।

अब हाम्रो पाइला त्यतैतिर मोडियो। उकालो चढ्न थालेपछि मनले भन्यो— हामी नर्वेमा होइन, नेपालको कुनै पहाडी बाटोमा पो हिँडिरहेका छौँ कि?”

ठूला–ठूला ढुंगा मिलाएर बनाइएको सिँढी। ठाउँ–ठाउँमा पुराना काठका संरचना, जुन  ढंगाको सिॅढी बनाउनु भन्दा पहिला थियो र वरिपरि बाक्लो जंगल।

हाम्रो माझमा यो उकालोमा ति सेर्पा दाजुभाइहरुसॅग भेट भएर सॅगै उक्लेको अनुभुति भयो । सेर्पा दाजुभाइहरूको मेहनत र योगदान झल्काउने तस्वीर तथा जानकारी पनि ठाउँ–ठाउँमा राखिएका थिए। अझ माथि जाँदा काठका बेञ्चहरू भेटिए। त्यहाँबाट पछाडि फर्केर हेर्दा हामीले छोडेर आएको बस्ती देखिन्थ्यो। र वरिपरि— हरियो पहेँलो। रातो। नर्वेमा प्रकृतिले बनाएको रंगीन संसार।

जंगलको बाटो हुँदै अझ माथि पुगेपछि हामी एउटा सुन्दर विश्रामस्थलमा पुग्यौँ। त्यहाँ दुई जना विदेशी नागरिक पनि थिए। पहिलो नजरमा त नेपाली नै होलान् जस्तो लाग्यो। तर नजिकिँदा थाहा भयो—उनीहरू विदेशी रहेछन्।

उनीहरूले दाउरा बोकेर ल्याएका रहेछन्। आगो बालेर धुवाँसँगै न्यानो तापिरहेका थिए।

हाम्रा केही साथीहरू पहिल्यै त्यहाँ पुगेर बसिरहेका थिए। कोही भने चौतारीबाट देखिने दृश्यको फोटो खिचिरहेका थिए। त्यहाँबाट पछाडि फर्केर हेर्दा— ओस्लोको आधा सहर आँखैअगाडि थियो। बजार क्षेत्र, टाढासम्म फैलिएको समुद्र, समुद्रको किनारमा पार्क गरि राखिएका बडेमान क्रुज अर्थात पानी जहाज ।  वस्लो वरी परी वरिपरिका डाँडाकाँडा अनि डाँडाकाँडामा रंग फेरिरहेका जंगल।

त्यही बेला होमनाथ  अधिकारीजीले आफ्नो झोलाबाट तातो चियाको थर्मस निकाल्नुभयो। चिसो मौसममा जंगलको उकालो चढेर आएका हामीलाई त्यो तातो चिया अमृतजस्तै लाग्यो।

सबैजनाले चिया पिउन थाल्यौँ।

अनि होमनाथजीले  अर्को थर्मस निकाल्दै भन्नुभयो—

मसँग दूध हालेको तर चिनी नहालेको चिया पनि छ है!”

त्यो क्षण केही बेरका लागि विदेशमा छु भन्ने अनुभूति नै हरायो।

आ–आफ्नो झोलाबाट खानेकुरा निकाल्यौँ। कोही बिस्कुट खान थाले, कोही फलफूल। खानासँगै कुरा पनि चल्यो।

कसैले विगतका दिन सम्झनुभयो। कसैले गाउँघरका कुरा गर्नुभयो। कसैले विदेश आउँदाका संघर्षका कथा सुनाउनुभयो। हासो, ठट्टा र सम्झनाले त्यो जंगलको चौतारीलाई एकछिनका लागि नेपालको गाउँको चौतारी बनाइदियो।

त्यहाँबाट अझ माथि काठले बनाएको पुलजस्तो बाटो रहेछ। जंगलको बीचबाट जाने त्यो बाटो निकै आकर्षक देखिन्थ्यो। तर आज अरू ठाउँमा पनि कार्यक्रम थियो। साना बालबालिका पनि साथमा थिए। त्यसैले हामीले सोच्यौँ— यो बाटो आज होइन, फेरि कुनै दिन आउँला।”

अनि फर्किने निर्णय गर्‍यौँ।

फर्किनुअघि त्यहीँ एउटा सानो परिचयात्मक कार्यक्रम भयो। एक–एक गर्दै सबैले आफ्नो परिचय दिनुभयो। होमनाथ अधिकारी। – लक्ष्मि अधिकारी चितवन, सुजन लामा काफ्ले- काभे, रोक्यान चौधरी – बारा किरण काफ्ले – चितवन दिव्या –  इन्दिरा आचार्य , प्रदिर आले- लमजुडं, रन्जन लामा सुनसरी, जय रिजाल – काठमान्डौ माधब काफ्ले- शंकर काफ्ले , स्याडं्जा सरोज थापा- तनहु हरी सन्जेल- ललितपुर, अनुसा  तिमिल्सिना- चितवन जिवन काफ्ले- सिन्धुली, नारायण प्रसाद अधीकारी- पोखरा कृस्ण प्रसाद अर्याल स्याडंजा

नेपालको घर कहाँ? कति भयो नर्वे आएको? अहिले कहाँ बस्नुहुन्छ? के काम गर्नुहुन्छ? कुन पेशामा हुनुहुन्छ?

परिचय सुन्दै जाँदा एउटा रमाइलो कुरा थाहा भयो।

कोही पूर्वबाट। कोही पश्चिमबाट। कोही पहाडबाट। कोही तराईबाट। कोही सहरबाट। कोही गाउँबाट।

नेपालका फरक–फरक ठाउँमा जन्मिएका मानिसहरू आज नर्वेको एउटै जंगलमा एउटै बाटो हिँडिरहेका थियौ । 

उकालोले नेपाल सम्झायो, ओह्रालोले बाल्यकाल अब हामी तल झर्न थाल्यौँ। होमनाथजीले  झोलामा राख्नुभएको सानो माइक निकाल्नुभयो। अनि जंगलको बाटोमा नेपालको राष्ट्रिय गान गुञ्जियो।

दसैँ पनि नजिकिँदै थियो। त्यसपछि दसैँका गीतहरू बज्न थाले। हामी गीत सुन्दै ओह्रालो झर्‍यौँ।

उकालो आउँदा लामो लागेको बाटो ओह्रालोमा भने कति छिटो सकियो, पत्तै भएन। तर त्यो उकालो–ओह्रालोले हामीलाई नर्वेभन्दा धेरै नेपाल सम्झाइरहेको थियो।

घरदेखि स्कुलसम्मको बाटो। स्कुलदेखि घरसम्मको उकालो–ओह्रालो। दाउरा काट्न गएका दिन। घाँस काट्न गएका दिन। दसैँमा घर पोत्न रातो माटो र कमेरो माटो खोज्दै हिँडेका दिन।

बाल्यकालका ती दिनहरू मानौँ नर्वेको जंगलको बाटोले एक–एक गर्दै सम्झाइरहेको थियो।

साथीहरू पनि आफ्ना पुराना कथा सुनाउँदै थिए।

कसैले गाउँ सम्झनुभयो। कसैले बाल्यकाल। कसैले संघर्ष। कसैले विदेश आउँदाका दिन। त्यसपछि महसुस भयो— बिस्तारै हामी तल झर्‍यौँ। त्यहाँबाट स्टोभनर स्टेसनतिर लाग्यौँ। बाटोमा पनि अक्टोबरको जंगलले आफ्नो सुन्दरता छाडेको थिएन।

राताम्य रुख। पहेँला पात। हरियो जंगल। हामी बीच–बीचमा रोकिन्थ्यौँ। फोटो खिच्थ्यौँ। फेरि अघि बढ्थ्यौँ।

बिस्तारै स्टोभनर सेन्टर आइपुग्यौँ। अब छुट्टिने बेला भयो।

केही साथीहरूका अरू कार्यक्रम पनि थिए। सबैजना आ–आफ्नो गन्तव्यतिर लाग्न थाल्नुभयो।

केही घण्टाअघि एउटै समूह भएर हिँडेका हामी अब फेरि आ–आफ्नो बाटो लाग्दै थियौँ।