इमानदारी र अनुशासन नै प्रहरी संगठनको मुख्य आधार : प्रधानमन्त्री शाह

इमानदारी र अनुशासन नै प्रहरी संगठनको मुख्य आधार : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले नेपाल प्रहरीको उच्च व्यावसायिकता कायम राख्न इमानदारी र अनुशासन मुख्य आधार भएको बताउनुभएको छ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले करिब १६ महिनाको कठोर तालिम पूरा गरेका प्रहरी अधिकारीहरूलाई बधाई दिँदै जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक सुधारका कदम चाल्नुपर्नेमा जोड दिनुभयो। प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

उहाँले प्रहरी अधिकारीहरूलाई संगठनको मर्यादा र नियमविपरीतका गतिविधि तथा अनुचित प्रभावबाट टाढा रही नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।

नागरिकको जिउधनको रक्षा गर्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएकाले त्यसमा कुनै सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो। तालिम पूरा गरेका प्रहरी अधिकारीहरू अब देशका विभिन्न भागमा खटिएर सुरक्षा व्यवस्था कायम गर्न योगदान पुर्‍याउनेछन्।