काठमाडौंमा पोर्चुगलको महावाणिज्य दूतावास खोल्न नेपाल सरकारको अनुमति

काठमाडौं । नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा महावाणिज्य दूतावास खोल्न अनुमति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगललाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यसअघि पोर्चुगलले काठमाडौंमा ‘काउन्सिलर कार्यालय’ खोल्न अनुमति माग्दै नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो। २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो।

तर, त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयको सट्टा त्यसभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको थियो।

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलले समेत यस विषयमा मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए।

पछिल्लो समय अध्ययन तथा वैदेशिक रोजगारीका लागि पोर्चुगल नेपालीहरूको आकर्षक गन्तव्य बन्दै आएको छ। पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ।

नेपालमा पोर्चुगलको दूतावास वा कन्सुलर सेवा केन्द्र नहुँदा पोर्चुगल जान चाहने नेपालीहरूले भिसालगायतका कामका लागि भारतको नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावासमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो।

काठमाडौंमै पोर्चुगलको महावाणिज्य दूतावास स्थापना भएपछि नेपाली नागरिकलाई भिसा तथा कन्सुलर सेवाका लागि नयाँ दिल्ली धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।