महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको आवास र भोजनको व्यवस्था गरिने
Screenshot

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको आवास र भोजनको व्यवस्था गरिने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूलाई परेको आवास तथा भोजनसम्बन्धी समस्याको व्यवस्थापन गरिने भएको छ।

निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि प्रतिनिधिहरूलाई परेको असहजतालाई ध्यानमा राख्दै आवास र भोजनको व्यवस्था मिलाउने निर्णय गरिएको हो।

आवासको समस्या परेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत आज साँझ वा भोलि बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गरिने जनाइएको छ।

त्यस्तै, असोज २२ गते साँझसम्म पूर्वनिर्धारित तालिकाअनुसार भोजनको व्यवस्था यथावत् रहनेछ। थपिएको एक दिनका लागि पनि भृकुटीमण्डपमै भोजनको व्यवस्था गरिने जानकारी दिइएको छ।

महाधिवेशन एक दिन थपिँदा उत्पन्न भएको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा एकताबद्ध भएर सहभागी हुन सभापति गगनकुमार थापाले सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ।

जय नेपाल !