
पिसा, इटाली । नेपाली समाज पिसाको आयोजना तथा सतीश महर्जनको अग्रसरतामा नेपालका बाढीपीडितको सहयोगार्थ आयोजित विशेष च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ।
अक्टोबर ४, आइतबार Vecchiano स्थित Circolino 1912 di Migliarino मा आयोजित कार्यक्रममा करिब १२० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली समुदायसँगै ठूलो संख्यामा इटालियन नागरिकहरूको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा Comune di Vecchiano का मेयर Massimiliano Angori को विशेष उपस्थिति रहेको थियो। त्यसैगरी नेपालका मानार्थ वाणिज्यदूत Paolo Nugari ले भिडियो सन्देशमार्फत कार्यक्रमप्रति शुभकामना तथा नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।
नेपाली र इटालियन समुदायबीचको आत्मीयता, मित्रता र सहयोगको सन्देश दिने कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव र एकताको वातावरण देखिएको थियो। कार्यक्रममा इटालियन परिकारसहितको विशेष डिनरको समेत व्यवस्था गरिएको थियो।
उक्त च्यारिटी कार्यक्रमबाट २ हजार ४५० युरो संकलन भएको आयोजकले जनाएको छ। संकलित रकम नेपालका बाढीपीडित तथा प्रभावित क्षेत्रमा मानवीय सहयोगका लागि इटालीस्थित नेपालका मानार्थ वाणिज्यदूतावासमार्फत पठाइएको जनाइएको छ।
कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्याउने सतीश महर्जन र एलिना लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नेपाली तथा इटालियन समुदायप्रति नेपाली समाज पिसाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रमले नेपाल र इटालीबीचको जनस्तरीय सम्बन्ध, आपसी मित्रता तथा मानवीय सहयोगको भावनालाई थप बलियो बनाएको आयोजकको भनाइ छ। साथै, नेपालमा आएको बाढीबाट प्रभावित समुदायका लागि आगामी दिनमा पनि विभिन्न सहयोग तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने आयोजकहरूले बताएका छन्।
“नेपालका दुःखमा हामी सबैको साथ—यही नै हाम्रो एकता, सद्भाव र मानवता हो।” भन्दै नेपाली समाज पिसाले आगामी दिनमा पनि यस्तै साथ, सहयोग, सद्भाव र सहभागिताको अपेक्षा गरेको छ।

