नर्वेमा ‘मल्टिकल्चरल शोकेस २०२६’ आयोजना हुँदै, नेपाली संस्कृति प्रस्तुत गर्ने अवसर

नर्वेमा ‘मल्टिकल्चरल शोकेस २०२६’ आयोजना हुँदै, नेपाली संस्कृति प्रस्तुत गर्ने अवसर

नर्वे। नर्वेमा सांस्कृतिक विविधता, आपसी एकता र सामुदायिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले ‘मल्टिकल्चरल शोकेस २०२६’ आयोजना हुने भएको छ।

मा ना मङ्गफोल्ड नेपाल नर्वे (MaNa Mangfold Nepal Norge) को आयोजनामा आगामी नोभेम्बर २२, आइतबारका दिन उक्त कार्यक्रम हुन लागेको हो। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रमको नारा ‘विभिन्न संस्कृति, एउटै समुदाय’ (Different Cultures, One Community) रहेको छ।

कार्यक्रममा नर्वेमा रहेका विभिन्न सांस्कृतिक समुदाय तथा संघसंस्थालाई सहभागी भई आफ्ना मौलिक कला, संस्कृति, परम्परागत संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्न आमन्त्रण गरिएको छ।

कार्यक्रमको पोस्टरमा नेपाल, भारत, श्रीलंका, टर्की, इरान, फिलिपिन्स र थाइल्यान्डलगायत विभिन्न देशका सांस्कृतिक पहिचान झल्काउने प्रस्तुति समेटिएका छन्।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विभिन्न समुदायलाई आफ्नो सांस्कृतिक पहिचान र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै अन्य समुदायसँग सम्बन्ध विस्तार गर्न, आपसी समझदारी बढाउन र मित्रताको भावना बलियो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बहुसांस्कृतिक समाजमा विविधतालाई सम्मान गर्दै साझा समुदायको भावना विकास गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले नर्वेमा रहेका विभिन्न देशका समुदायलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्नेछ।