बार्सिलोना, स्पेन। नेपालीहरूको महान् चाड विजयादशमी २०८३ को अवसरमा स्पेनको बार्सिलोनामा श्री नवदुर्गा पूजा आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको आयोजनामा अक्टोबर ११ देखि २१, २०२६ सम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो।
नेपाली संस्कार, संस्कृति, पहिचान र आध्यात्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा दैनिक चण्डीपाठ, भजनकीर्तन, आरती तथा प्रसाद ग्रहणलगायतका कार्यक्रम समावेश छन्।
दैनिक चण्डीपाठका लागि शास्त्री टिकाराम कँडेल, सागर काफ्ले, कुल प्रसाद गौतम र कमल भण्डारी वाचकका रूपमा रहने जनाइएको छ।
कार्यक्रमअन्तर्गत अक्टोबर १८ मा साँझ ७:३० देखि राति १०:३० बजेसम्म विशेष कालरात्रि पूजा पनि गरिनेछ।
बार्सिलोनास्थित Jardin de Hara, C/Fraternitat 25 मा आयोजना हुने पूजामा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सपरिवार सहभागी हुन आयोजकले आग्रह गरेको छ।
आयोजकले विदेशमा रहेर पनि नेपाली धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकता बढाउन कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरेको छ।
कार्यक्रम विवरण
- मिति: अक्टोबर ११–२१, २०२६
- समय: बिहान ७:३० देखि दिउँसो ३:०० बजेसम्म
- विशेष कालरात्रि पूजा: अक्टोबर १८, साँझ ७:३० देखि राति १०:३० बजेसम्म
- स्थान: Jardin de Hara, C/Fraternitat 25, Barcelona
- आयोजक: गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेन
सिमापारि — सीमाभन्दा परका नेपालीका खबर, आवाज र सरोकार।

